काठमाडौं,फागुण १२।  नेकपा एमाले ले आगामी निर्वाचन नजिकिदै गर्दा केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गर्न खोजिएको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले तराई–मधेशका केही स्थानमा जारी निषेधाज्ञा र कर्फ्युले मतदाताको संवैधानिक अधिकार प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो।

पार्टीले शान्ति सुरक्षाका नाममा लगाइएका कडा प्रतिबन्धहरूले केवल क्षणिक सुरक्षा अनुभूति दिलाउन सक्ने भए पनि मतदाताको मनमा डर र असुरक्षाको वातावरण सिर्जना गरेको बताएको छ। एमालेका आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाही का अनुसार भयरहित निर्वाचन सुनिश्चित गर्न सरकारलाई पुनः शान्ति सुरक्षाको प्रत्याभूति गराउन आवश्यक रहेको छ।

ADVERTISEMENT

त्यसैगरी एमालेले हाल निर्वाचन सार्ने हल्लाप्रति ध्यानाकर्षण गराउँदै कुनै पनि बहानामा चुनाव स्थगित नगरी तय मितिमा निर्वाचन हुनुपर्नेमा आफ्नो दृढ अडान रहेको बताएको छ। मत सर्वेक्षण र एकपक्षीय तथ्याङ्कको प्रयोगले जनमत प्रभावित हुन सक्ने भएकाले यस्ता क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको पनि शाहीले बताए।

पार्टीले पछिल्लो समयमा गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामग्रीहरूको प्रसारले सामाजिक सद्भाव भड्काउने र राजनीतिक ध्रुवीकरण सिर्जना गर्ने गम्भीर चुनौती खडा गरेको ठहर गरेको छ। एमालेले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग सहकार्य आवश्यक रहेको जोड दिएको छ।

ADVERTISEMENT