काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोरेको हार अस्थायी भएकाले निराश नभई कमजोरी सुधार गरेर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन्।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको पराजयले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताइन्। उनले नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ पार्टी संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्।
“निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुधार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ,” उनले भनिन्।
११ वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले आफ्नो पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभएको स्पष्ट पारिन्। मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति पदमा रहँदा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गरिन्। अब आफू कुनै पनि पदप्रति आशक्त नरहेको पनि उनले बताइन्।
उनले मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पार्ने गतिविधि कसैले गर्न नहुने धारणा राखिन्।
भण्डारीले पार्टी शुद्धीकरण, जनसंगठनको सुदृढीकरण र जलवायु न्यायका विषयलाई पनि सम्बोधनका क्रममा उठाइन्। जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा लागू गर्नुपर्ने उनको भनाइ थियो।
युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनले उद्यमशीलता विकास, बहस तथा रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन्। साथै निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिइन्।
एमालेको दुईदिने राष्ट्रिय भेला आज सम्पन्न हुँदैछ।












