काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पुगेको छ। सीआईबीले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको जनाएको छ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार एन्फामाथि भइरहेको अनुसन्धानकै क्रममा शुक्रबार कार्यालयमा टोली पुगेको हो। टोलीले अनुसन्धानसँग सम्बन्धित आवश्यक कागजात हेरेर नियन्त्रणमा लिएको जनाएको छ।

ADVERTISEMENT

सीआईबीको टोली कार्यालयमा पुग्दा एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी पनि त्यहाँ उपस्थित थिए। उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिएको र आवश्यकताअनुसार थप अनुसन्धान अघि बढाइने बताइएको छ।

ADVERTISEMENT

यसअघि फिफाले एन्फालाई निलम्बन गरेको थियो। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै फिफाले एन्फामाथि निलम्बन लगाएपछि नेपाली फुटबलका गतिविधि प्रभावित भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले पनि एन्फाका गतिविधिमा रोक लगाएको छ।

यहीबीच एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारबाट स्पष्ट निर्णय नआए फिफाको निर्देशनअनुसार सोमबारदेखि आफ्ना नियमित तथा आवश्यक गतिविधि अघि बढाउने बताएको थियो।

एन्फामाथिको अनुसन्धान र कार्यालयबाट कागजात नियन्त्रणमा लिएसँगै नेपाली फुटबलको पछिल्लो विवाद थप अनुसन्धानको दायरामा आएको छ।