काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्र बिहीबार एन्फालाई पठाउँदै निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराइएको हो।

ADVERTISEMENT

राखेपको कार्यकारी समितिले १९ नोभेम्बर अर्थात् ३ मंसिरमा गरेको निर्णयअनुसार एन्फामाथि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ। प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको राखेपले जनाएको छ।

ADVERTISEMENT

एन्फाले यसअघि गत ५ अप्रिल अर्थात् चैत २३ गते पत्रमार्फत राखेपसँग निलम्बन फुकुवाका लागि अनुरोध गरेको थियो। उक्त अनुरोधपछि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ।

निलम्बन फुकुवासम्बन्धी निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।

राखेपको निर्णयसँगै एन्फामाथि परिषद्ले लगाएका प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटेका छन्।