काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। निर्वाचनको वातावरण बनाउन सरकारले प्रतिपक्षसहित सबै राजनीतिक दलसँग समयमै संवाद गर्नुपर्ने उनको भनाइ छ।
शुक्रबार निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन व्यवस्थापनमा आयोगको महत्वपूर्ण भूमिका रहे पनि शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
उनले निर्वाचनको वातावरण निर्माणका लागि समयमै सरकारको ध्यानाकर्षण गराउन निर्वाचन आयोगलाई आग्रह गरेको जानकारी दिए।
भदौ २३ र २४ गतेका घटनापछि उत्पन्न राजनीतिक रिक्तताबीच भएको निर्वाचनको उदाहरण दिँदै थापाले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरूसँग पटक–पटक संवाद गरेर निर्वाचनको वातावरण बनाउन भूमिका खेलेको उल्लेख गरे।
‘निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस्। सबै जिम्मा आयोगको मात्रै हुँदैन,’ थापाले भने।
निर्वाचनको समय र प्रक्रियाबारे संविधानमै व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनका क्रममा उठ्न सक्ने व्यावहारिक विषय सरकारले राजनीतिक दलहरूसँग छलफल गरेर टुंग्याउनुपर्ने बताए।
थापाका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सरकार र राजनीतिक दलबीच समयमै समन्वय तथा संवाद आवश्यक छ।












