काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आगामी मंसिर ७ गते सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।
प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। भ्रमणको पहिलो दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग नयाँ दिल्लीस्थित होटल ताजमहलमा भेटवार्ता गर्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट कार्यक्रम तय गरिएको छ। त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
राजघाटको कार्यक्रमपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तापछि सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम राखिएको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन्।भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका रहेको छ।












