काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन्।

फिफा विश्वकप २०२६ हेर्न अमेरिका हुँदै मेक्सिको जान लागेका नेम्वाङ र राईलाई सोमबार बिहान विमानस्थलबाटै फिर्ता पठाइएको हो।

ADVERTISEMENT

अध्यागमन स्रोतका अनुसार उनीहरू विदेश यात्रा गर्न रोक लगाइएका व्यक्तिहरूको सूचीमा रहेकाले प्रस्थान अनुमति नदिइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले उनीहरू ‘ब्ल्याक लिस्ट’ मा रहेकाले फर्काइएको जानकारी दिएका छन्।

ADVERTISEMENT

आर्थिक अनियमिततासम्बन्धी विषयमा छानबिन भइरहेका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूको विदेश यात्रा रोक्ने निर्णय गरेको थियो।

फिफा विश्वकप २०२६ मा सहभागी हुन विदेश जान पाउने व्यवस्था मिलाइदिन एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले राखेपसँग अनुरोध गरेका थिए। तर राखेपले उक्त अनुरोध अस्वीकार गरेको बताइएको छ।

ADVERTISEMENT

विदेश यात्रा रोकसम्बन्धी निर्णय कायम रहेपछि अध्यागमन कार्यालयले उनीहरूलाई विमानस्थलबाटै फर्काएको हो।