काठमाडौँ । नेपालले बंगलादेशमा आयोजना हुने १५औँ संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको समयसीमासम्म पनि अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको फिफा निलम्बन फुकुवा नभएपछि नेपालले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको हो।
३३ वर्षको साफ इतिहासमा नेपाल पहिलोपटक प्रतियोगितामा सहभागी नहुने भएको हो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै असार १० गते अनिश्चितकालका लागि निलम्बन गरेको थियो।
साफले यसअघि सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी प्रतियोगिताको समूह संरचना तय गरेको थियो। तर तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
यसपटक साफ च्याम्पियनसिपमा ६ देश सहभागी हुनेछन्। समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्स छन्। निलम्बन फुकेको भए नेपाल समूह ‘ए’ मा सहभागी हुने थियो।
नेपालले यसअघिका सबै १४ संस्करणमा सहभागिता जनाएको थियो। अब भने १५औँ संस्करणमा नेपालबिना प्रतियोगिता सञ्चालन हुनेछ।







