काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकास निर्माणले तीव्रता पाउने बताएका छन्।

आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहलाई बलियो बनाउने काम एमालेले नै सुरु गरेको दाबी गरे।

ADVERTISEMENT

‘स्थानीय तहको सबलीकरणका कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन,’ ओलीले भने, ‘त्यतिबेला जनश्रमदान गरेर गाउँ–गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो।’

ADVERTISEMENT

अध्यक्ष ओलीले स्थानीय तह सबलीकरण हुँदा देशलाई कुनै हानि नहुने बताए। उनले स्थानीय तहलाई थप स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिए।

‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ,’ उनले भने, ‘सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभूति गर्न पाउँछन्।’

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू सबै गाउँ–गाउँमा पुग्न सम्भव नहुने उल्लेख गर्दै ओलीले राज्यको प्रतिनिधिका रूपमा स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोसम्म पुग्नुपर्ने बताए।