काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शुक्रबार खेलकुद मन्त्रीको उपस्थितिमा राखेप र एन्फाबीच भएको छलफलपछि सहमति जुटेसँगै प्रतिबन्ध हटाइएको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पाखरेलको उपस्थितिमा भएको बैठकमा राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी तथा प्रवक्ता सुरेश शाह सहभागी थिए। बैठकमा निर्वाचन प्रक्रिया सहमतिअनुसार अगाडि बढाउने समझदारी भएपछि प्रतिबन्ध फुकुवा गरिएको जनाइएको छ।
गत चैत ११ गते एन्फाले पुरानै प्रतिनिधिहरूको उपस्थितिमा जबर्जस्ती अर्ली चुनावी साधारण सभा गर्न खोजेपछि राखेपले एन्फालाई तीन महिनाका लागि प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्धपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले राखेपलाई पटक–पटक बिनासर्त प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै आएको थियो। फिफाले समयमै प्रतिबन्ध नहटाए नेपाल फुटबलको सदस्यता जोखिममा पर्न सक्ने तथा फिफा र एसियाली फुटबल महासंघ (एएफसी)बाट समेत प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएको थियो।
यसबीच राखेपले फिफासँग भौतिक उपस्थितिमा बैठक गरी समस्याको समाधान खोज्न प्रस्ताव गरेको थियो। एन्फाले प्रतिबन्ध बिनासर्त हटाइएको दाबी गरे पनि राखेपले भने प्रक्रियागत रूपमा निर्वाचन सम्पन्न गर्ने सहमतिपछि मात्रै प्रतिबन्ध हटाइएको स्पष्ट पारेको छ।
प्रतिबन्ध फुकुवासँगै अब एन्फाको निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने अपेक्षा गरिएको छ।








