काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्। उनले नयाँ राजनीतिक शक्तिलाई विगतका गल्ती नदोहोर्‍याउन आग्रह गर्दै स्थिरता र जिम्मेवार शासनमा ध्यान दिनुपर्ने बताएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार चलाउने जनादेश पाएको भन्दै उक्त अवधिसम्म काम गर्ने अवसर दिनुपर्ने धारणा राखे। पाँच वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी आफूहरू तयारीमा रहेको उनले बताए।

ADVERTISEMENT

थापाले विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफ्नो बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उल्लेख गरे। संख्या ठूलो हुँदैमा सरकार बलियो नहुने भन्दै उनले निरन्तर जनसमर्थन र नैतिक नेतृत्व आवश्यक रहेको बताए।

ADVERTISEMENT

नयाँ राजनीतिक शक्तिलाई सुझाव दिँदै उनले भने, ‘कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस्, अब नेपालले थेग्न सक्दैन।’

उनले लोकतन्त्रमा सरकारमा मत दिएका र नदिएका दुवै पक्षका नागरिकको विश्वास कायम राख्नुपर्ने बताए। साथै संसदमा पुगेका सांसदले आफूले बोल्ने हरेक शब्द र गर्ने निर्णयप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए।

ADVERTISEMENT

सांसदहरूले जे मन लाग्यो त्यही बोल्ने प्रवृत्ति बढेको भन्दै थापाले संसदको गरिमा र मर्यादाप्रति गम्भीर बन्न आग्रह गरे। संसद, सरकार, अदालत र संवैधानिक निकायमा जिम्मेवारी पाएका व्यक्तिले कानुनी मात्र नभई जनभावना र औचित्यलाई समेत ध्यानमा राखेर अधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

कानुनसम्मत हुँदैमा हरेक काम जनभावनाअनुकूल नहुने उल्लेख गर्दै थापाले जनताको भावनाविपरीत जाने छुट कुनै पनि जिम्मेवार पदाधिकारीलाई नरहेको बताए।