काठमाडौं । नेपाली कांग्रेसले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन पार्टीका स्थानीय तहसम्मका संगठनलाई सक्रिय रूपमा परिचालन गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिनको सुरुआत राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘सिग्नेचर गीत’ बजाएर गरिएको थियो।

ADVERTISEMENT

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंसिर ७ गतेदेखि सुरु भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुनेछ।

ADVERTISEMENT

बैठकमा सभापति गगनकुमार थापाले ७ हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताले नेपाली खेलकुदको विकास र विस्तारमा नयाँ ऊर्जा, उत्साह र गतिशीलता थप्ने विश्वास व्यक्त गरे। राष्ट्रिय खेलकुदले देशको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतियोगितालाई भव्य, सभ्य र अविस्मरणीय बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, खेलप्रेमी समुदाय तथा सम्पूर्ण नेपालीलाई अपिल गरेको छ।

प्रतियोगिता सफल बनाउन सबै पक्षको सहयोग, सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै बैठकले राष्ट्रिय खेलकुदको आयोजनालाई राष्ट्रिय गौरवको विषयका रूपमा लिन आग्रह गरेको छ।