काठमाडौं । कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा थापाले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र सिंगो रास्वपा परिवारलाई शुभकामना दिएका हुन् ।

‘प्रिय रवि लामिछानेजी, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाई र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना,’ थापाले लेखेका छन्, ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईँको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ। ’

ADVERTISEMENT

थापाले यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको पनि बताएका छन् । ‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ थापाले भनेका छन्, ‘तपाईको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’

ADVERTISEMENT

रास्वपाले महाधिवेशनमा सम्बोधन गर्न कांग्रेस सभापति थापालाई विशिष्ट अतिथिको निम्तो दिएको छ । तर थापा महाधिवेशनमा नजाने भएका छन् । उनले पार्टीका अरु नै पदाधिकारीलाई पठाउने भएका छन् । रास्वपाकाे तीन दिने महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

ADVERTISEMENT