काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार सभापति गगन थापाबाहेकका २३० जना पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको छ। यद्यपि, कार्यक्रमको मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन।

ADVERTISEMENT

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। सभापति थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। बाँकी २३० जनाले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ।

ADVERTISEMENT

निर्वाचन समितिका सदस्यसचिव कटुवालले कात्तिक १२ गते कार्यक्रम गर्ने गरी तयारी अघि बढाइएको बताए। उनका अनुसार वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा विदेशमा रहेकाले कार्यक्रमको मिति टुंगो लाग्न बाँकी छ।

शर्मा आइतबार स्वदेश फर्किएपछि शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको मिति निश्चित गरिने कटुवालले जानकारी दिए।