काठमाडौं। काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेना यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। २०७०, २०७४ र २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही–४ तर्फ उम्मेदवार बनेपछि पार्टीले काठमाडौं–४ मा तिमल्सेनालाई अघि सारेको हो।
आफूलाई पार्टीको युवा पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै तिमल्सेनाले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्। उनले विकास, सुशासन र युवा सहभागितालाई मुख्य एजेन्डा बनाउँदै मत मागिरहेका छन्।
आज उनले काठमाडौं–४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका–९ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका थिए। स्थानीयसँग भेटघाट गर्दै उनले क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना योजना प्रस्तुत गरेका छन्।
काठमाडौं–४ मा यसपटक २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ७६ हजार १४१ मतदाता रहेका छन्। मतदानका लागि ३३ मतदानस्थल र ८८ मतदान केन्द्र तोकिएका छन्।
चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा प्रमुख दलका उम्मेदवारहरूले घरदैलो, कोणसभा र मतदाता भेटघाटलाई तीव्रता दिएका छन्।







