काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ। साथै, कोषको लगानी क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने गरी कानुनी व्यवस्था संशोधन गर्न लागिएको छ।

नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।

ADVERTISEMENT

बदलिँदो आर्थिक परिवेशअनुसार कोषलाई आधुनिक वित्तीय उपकरण र नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको मन्त्री वाग्लेको भनाइ छ। प्रस्तावित संशोधनअनुसार कोषले निजी इक्विटी, भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्नेछ।

ADVERTISEMENT

मन्त्री वाग्लेले पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि कोषको लगानी विस्तार गर्नुपर्ने बताए। उनका अनुसार आवास क्षेत्र मध्यम वर्गको विस्तारसँग पनि जोडिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र आवासजस्ता क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

विधेयकमा कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने तथा संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको छ।

त्यस्तै, डिबेन्चर, ऋणपत्र र धितोपत्रलगायतका वित्तीय उपकरणको परिभाषा परिमार्जन गरी मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई पनि लगानीको दायरामा समेट्न खोजिएको छ।

मन्त्री वाग्लेका अनुसार कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव छ। सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि विधेयकमा समेटिएको छ।