काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने दाबी गरेका छन्। सर्लाहीको बलरा नगरपालिकामा मंगलबार आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका हुन्।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएर सोमबारदेखि निर्वाचन क्षेत्रमा सक्रिय थापाले मतदातासँगको भेटघाटलाई तीव्र पारेका छन् ।
थापाले आफू जिम्मेवारीबाट भाग्ने व्यक्ति नभएको भन्दै नियमित महाधिवेशनबाट पनि सभापति बनेर आउने दाबी गरे । आफू केही दिन आएर हात हल्लाएर भाग्ने खालको मान्छे नभएकाले फेरि पनि कांग्रेसको सभापति बन्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

फागुन २१ को चुनावलगत्तै कांग्रेसले नियमित महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ । नियमित महाधिवेशनमा थापाले सभापतिमा उम्मेदवारी दिनेछन् । त्यस्तै, शेखर कोइराला, पूर्णबहादुर खड्का सभापतिका आकांक्षी छन् ।

सो क्रममा उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको स्पष्ट पारे । उनले आफू मधेशको गौरव बढाउन पनि सर्लाहीमा चुनावी प्रतिष्पर्धाको लागि आएको जिकिर गरे । आफूलाई ६ महिना मतदाताको नामले बोलाउन सक्ने र एक वर्षमा स्थानीय भाषाबाट बोल्न सक्ने बनाउने उनको भनाइ थियो ।

ADVERTISEMENT

थापाले स्थानीय भाषा प्रयोगलाई पनि सतही प्रदर्शनका रूपमा नलिने बताए। पार्टीका नेताहरूले दुई लाइन भए पनि यहाँको भाषामा बोल्न सिक्न सुझाव दिएको तर आफू त्यसरी ‘रातभरि घोकेर’ भाषण गर्न नआउने उनको भनाइ थियो।

‘म यहाँको भएपछि ६, ८, १० महिना वा एक वर्ष लागोस्, यहाँका मानिसलाई नामले चिन्न चाहन्छु,’ उनले भने, ९–१० महिनापछि एक लाइन होइन, माइक समातेर यहाँकै भाषामा धाराप्रवाह बोल्ने अवस्थामा पुग्छु।’