काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ । त्यसका लागि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो । नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो।

ADVERTISEMENT

शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेस सचिव प्रकाश शर्माले जानकारी दिए । बैठकमा पदाधिकारी, केन्द्रीय समितिका सदस्य तथा सातै प्रदेशका सभापतिलाई आमन्त्रण गरिएको छ । बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ।

पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही ४ मा जाने कार्यक्रम छ । थापा बिहीबार नै निर्वाचन क्षेत्र जाने तय थियो । तर आधिकारिक रूपमा भावी प्रधानमन्त्रीको घोषणा गरेर जाँदा तर्कसंगत हुने ठानेर यस्तो निर्णय लिइएको नेताहरुले बताएका छन् ।

ADVERTISEMENT

यसअघि एमालेले केपी ओली, रास्वपाले बालेन्द्र साह बालेन, राप्रपाले राजेन्द्र लिङ्देनलाई भावी प्रधानमन्त्री घाेषणा गरिसकेका छन् । नेकपाले भने कसैलाई प्रधानमन्त्रीकाे घाेषणा गरेकाे छैन । बुधबार मतदातासँगै मत माग्दै नेकपा संयाेजक प्रचण्डले चुनावपछि अहिले चर्चामा आएका काेही पनि प्रधानमन्त्री नबन्ने दाबी गरेका थिए ।