काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउप्रति आपत्ति जनाउँदै पक्राउ परेकाहरूलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र निन्दनीय भएको बताएका छन्।

उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताएका छन्।

ADVERTISEMENT

सभापति थापाले सरकार बलियो र विधिको शासनप्रति प्रतिबद्ध तब मात्र मानिने उल्लेख गर्दै फरक मत र आलोचना सुन्न सक्ने क्षमता हुनुपर्ने धारणा राखेका छन्। आलोचनालाई दमनबाट नभई संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।

ADVERTISEMENT

फरक मत र जनताका प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको कमजोरी भएको उल्लेख गर्दै थापाले पक्राउ परेका सबै युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।

ADVERTISEMENT

सभापति थापाकाे स्टाटस जस्ताकाे तस्तै

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि ?! चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
 फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!