काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकैदिनमै सरकार ढाल्न सकिने नजिर स्थापित भएको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले एकैदिन पाँच लाख जनता सडकमा उतारेर बालेन सरकार ढाल्न सकिने बताए । उनले बालेन सरकार निरंकुश हुँदै गएकाले अब आन्दोलनको विकल्प पनि नभएको उल्लेख गरे ।

ADVERTISEMENT

‘एकदिनमै सरकार उल्टाउन सकिने रहेछ भनेर उनीहरूले हामीलाई सिकाएका हुन् । जिल्ला र राजधानीमा पाँच लाख मान्छे सडकमा उतारेर सरकार ढाल्न बेर लाग्दैन,’ उनले भने ।

प्रचण्डले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको कमजोरीमाथि टेकेर नेपाली जनतालाई अफिम खुवाएको टिप्पणी गरे । ‘चिनियाँ क्रान्तिको इतिहासमा साम्राज्यवादीहरूले चिनियाँ जनतालाई के गरी लुट्ने ? त्यहाँको साधन स्रोत कसरी कब्जा गर्ने ? भनेर जनतालाई अफिमको लत बसाइदिए,’ उनले भने, ‘आमरुपमा जनतालाई अफिम खुवाएर लठ्ठ परेपछि के को राष्ट्रिय, स्वाधीनता ? त्यसरी नै साम्राज्यवादीले मजाले चीनको साधन स्रोत आफ्नो कब्जामा पारेका थिए । यो पटक हाम्रो त्यो गल्तीका कारण हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्तालाई हाम्रो त्यो कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन् मैले जनताको अपमान गर्न खोजेको होइन ।’

ADVERTISEMENT

प्रचण्डले अहिलेको सोसियल मिडिया र अल्गोरिदम म्यानिपुलेसनलाई अफिमको लतसँग तुलना गरेका हुन् । भने, ‘अफिममै लठ्ठ पारिदिए सबैलाई, अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ । अर्को कुनै उपाय छैन ।’

सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत् नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिष्टहरुले वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा प्रचण्डको जोड छ । त्यसक्रममा उनले दिगोपनको सुनिश्चितता नगरिकन वाम एकता सम्भव नभएको पनि स्पष्ट पारे ।

प्रचण्डले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको टिप्पणी गरे । प्रचण्डले कम्युनिष्टहरू सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको स्वीकार गर्दै अब सच्चिनुको विकल्प नरहेको बताए ।

विदेशी शक्तिहरूले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा बेलैमा थाहा नपाउँदा आजको स्थिति भोग्नुपरेको उनको भनाइ थियो । चिनियाँ साम्राज्यवादीहरूले अफिमको लतमार्फत त्यहाँका जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै प्रचण्डले नेपालको पछिल्लो राजनीतिमा पनि त्यही घटना दोहोरिएको तर्क गरे ।