काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्।

उनलाई शनिबार बिहान ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।

ADVERTISEMENT

आचार्यका अनुसार प्रचण्डलाई पछिल्ला दुई–तीन दिनदेखि ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा निमोनियाको लक्षण देखिएपछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै राखेर उपचार थालिएको हो।

स्वास्थ्य अवस्था असहज बनेपछि प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा सहभागी भएका थिएनन्। त्यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा संघीय संसदको बैठकमा समेत उनी उपस्थित हुन सकेनन्।

ADVERTISEMENT

चिकित्सकको निगरानीमा रहेका प्रचण्डको स्वास्थ्य अवस्थाबारे थप जानकारी उपचार प्रक्रियासँगै सार्वजनिक गरिने जनाइएको छ।