काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावका विषयमा सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप लगाएका छन्।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै उनले संकटको समयमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए। सुनसरीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव तथा आपसी विश्वास कायम राख्न आग्रह गरे।
प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि संवाद, राजनीतिक परिपक्वता र साझा जिम्मेवारी आवश्यक रहेको बताए।
राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार प्रभावकारी रूपमा साझा समाधान खोज्न नसकेको भन्दै उनले प्रश्न उठाए।
बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै उनले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने धारणा राखे। संसद्भित्र सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी नभएको उनको भनाइ थियो।
बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै प्रचण्डले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै वर्तमान परिस्थितिलाई सहज बनाउन सकिने बताए।
साथै, आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पङ्क्तिलाई आवश्यक निर्देशन दिइएको जानकारी दिए। घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाह्य रूपमा वातावरण भड्काउने तत्व पनि सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्नेमा उनले जोड दिए।





