काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन्।
निर्मल लामाको २६औँ स्मृतिका अवसरमा आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले नयाँ परिस्थितिमा आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्ने ऐतिहासिक दायित्व आफूहरुको काँधमा आएको बताए ।
सरकारले गणतन्त्रका उपलब्धि र श्रमजीवी वर्गमाथि नै सबैभन्दा धेरै प्रहार गरिरहेको आरोप लगाउँदै प्रचण्डले कम्युनिस्टहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए। ‘त्यसो गर्न सकिएन भने निकै अप्ठेरो अवस्था आउन सक्छ। सबैभन्दा बढी त राष्ट्रिय स्वाधीनता निकै अप्ठेरो ठाउँमा पुगेको देखिएको छ। कम्युनिस्ट आन्दोलनलाई संकटमा धकेल्ने कसरतहरु भइरहेका छन्,’ उनले भने।
कम्युनिष्ट पार्टीलाई सिध्याउन देशी विदेशी प्रतिक्रियावादीहरू ठूलो डिजाइनअन्तर्गत लागिपरेको दाबी उनले गरे । प्रचण्डले वस्तुगत यथार्थलाई स्वीकार गरेर अघि बढ्ने आँट नगरे श्रमजीवी जनताप्रति ठूलो घात गरेको ठहर्नेसमेत बताए । ‘यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौँ भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरुको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।
कम्युनिष्ट पार्टीहरूले पहिले आफैँभित्र समीक्षा गरेर सच्चिने र सिंगै आन्दोलनलाई एकतावद्ध गरेर लैजानेतर्फ सोच्नुपर्ने बेला आइसकेको प्रचण्डको भनाइ छ ।
‘अहिले समय र परिस्थितिको माग छ–हामीेले पहिले आफैँलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो ? त्यसको समीक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ,’ उनले भने ।








