काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको उनको भनाइ छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले अहिले देशका सामु जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका हुन्।
प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरेका छन् ।
प्रचण्डले राष्ट्रिय समस्या र संकटहरूको समाधान केवल ‘अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी’बाट मात्रै सम्भव हुनेमा जोड दिएका छन्। उनले यसका लागि दुईवटा कार्यभारलाई अपरिहार्य मानेका छन्।
‘देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।’
साथै, प्रचण्ड संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुनसमेत आह्वान गरेका छन् ।
माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रिया अन्तिम समयमा गएर टुट्ने संकेत देखिएपछि प्रचण्डले यस्तो अपिल गरेका हुन् । एकीकृत समाजवादीमा झलनाथ खनाल र घनश्याम भुसाललगायत माओवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा छन् । माओवादीमै पनि अन्य नेता एकताको विपक्षमा छन् ।








