काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा विध्वंसको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।
जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
प्रचण्डले आन्दोलनको सुरुवात अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट भएको बताएका छन्। तर युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ।
त्यसपछि आन्दोलनमा संदिग्ध तत्वहरूले घुसपैठ गरी त्यसलाई हिंसा र विध्वंसतर्फ मोडेको प्रचण्डको दाबी छ। उनले सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत तथा सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबारे समेत सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
प्रचण्डले ‘को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, हिंसा कसले भड्कायो र त्यसबाट लाभ कसले उठायो’ भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने बताएका छन्।
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि माग गरेका छन्। दोषी जोसुकै भए पनि राजनीतिक पहुँच वा शक्तिका आधारमा उन्मुक्ति दिन नहुने उनको भनाइ छ।
प्रचण्डले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र समान अवसरका माग अझै सम्बोधन हुन नसकेको बताएका छन्। लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु रहेको उनले उल्लेख गरेका छन्।
उनले संविधान र लोकतन्त्रको रक्षा तथा प्रतिगामी र निरंकुश प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर शक्तिहरूलाई एकताबद्ध हुनसमेत अपिल गरेका छन्।








