काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ।
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो।
काठमाडौंको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले अविजित ४४ रन बनाए। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। विलियम बोसिस्टोले पनि अविजित २३ रनको योगदान दिए। यी दुईले दोस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमै समेटिएको थियो। उसका लागि रुपेश सिंहले सर्वाधिक २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए।
काठमाडौंका सन्तोष यादवले ३ विकेट लिए। सहान अराचिगे र जहानदान खानले समान २ विकेट लिए भने करण केसी, शाह आलम र देव शाहले १–१ विकेट हात पारे।
पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार दोस्रो जित निकाल्दै ३ खेलबाट ४ अंक जोडेको छ। ऊ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको विराटनगर समान ४ अंकसहित कमजोर रनरेटका आधारमा पाँचौँ स्थानमा झरेको छ।










