काठमाडौं सरकारलाई शेयर बजारले पत्याउनै छाडेको छ। सरकारको भनाइ र गराइबीच तालेमेल मिल्न नसक्दा बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै एकाध दिनबाहेक सबै दिनहरूमा ओरालो लाग्दै आएको शेयर बजार यो साता पनि ओरालो गतिमै बित्यो।
शेयर बजार परिसूचक नेप्से एवं कारोबार रकम दुवैमा यो साता पनि गिरावट आएको छ। सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट भाषण सार्वजनिक गर्दै पुँजी बजार सुधारका लागि धेरै कार्यक्रमहरू अगाडि लैजाने उद्घोष गरे पनि यसलाई लगानीकर्ताहरूले पत्याउन सकेका छैनन्। सरकार गठन भएदेखि यता सम्पत्ति शुद्धीकरण एवं विभिन्न मुद्दामामिला लगाएर उद्योगी–व्यापारीहरूलाई तर्साउने क्रम सुरु भएको छ। यसको असर अहिले सिंगो पुँजी बजारमा देखिएको छ।

यही कारण अहिले शेयर बजारमा लगानी गर्न जो कोही लगानीकर्ताहरू पनि डराइरहेका छन् भने पुराना लगानीकर्ताहरू आफ्नो शेयर बेचेर बाहिर निस्किरहेका छन्। यसले गर्दा पछिल्लो समय शेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। शेयर बजारमा पछिल्लो समय देखिएको यही मनोदशालाई हेर्दा पनि सरकारलाई शेयर बजारले पत्याउनै छाडेको देखिन्छ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुलेको थियो। जसमध्ये तेस्रो र पाँचौँ दिन झिनो अंकले उकालो लागेको नेप्से बाँकी दिन ओरालोमा बित्यो। सोही कारण यो साता नेप्से परिसूचक २७०२.११ बिन्दुमा सीमित हुन पुग्यो भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४६३.९८ बिन्दुमा सीमित हुन पुग्यो।

यो साता ३५५ वटा कम्पनीहरूको शेयर कारोबार भएका छन्। जसअनुसार २ लाख ४६ हजार ६३४ पटकको कारोबारमा ४ करोड ८४ लाख ८९ हजार ६२० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ४ करोड ७३ लाख ३ हजार ७० रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत साताको तुलनामा ३ अर्ब रुपैयाँले कम हो।
गत साता ३५६ वटा कम्पनीहरूको शेयर कारोबार भएका थिए। जसअनुसार २ लाख ८२ हजार ३९३ पटकको कारोबारमा ४ करोड ९९ लाख ८९ हजार ७६१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २३ अर्ब ७ करोड २८ लाख ९० हजार ४६७ रुपैयाँ पुगेको थियो।
दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले ओरालो लागेर २७११.७६ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.९६ अंकले ओरालो लागेर ४६६.१३ बिन्दुमा झरेको थियो।
दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ६.३१ अंकले ओरालो लागेर २७०५.४५ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४८ अंकले ओरालो लागेर ४६४.६४ बिन्दुमा झरेको थियो।
तेस्रो दिन बुधबार भने नेप्से परिसूचक ०.०८ अंकले उकालो लागेर २७०५.५३ बिन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.२० अंकले ओरालो लागेर ४६४.४३ बिन्दुमा झरेको थियो।
चौथो दिन बिहीबार नेप्से परिसूचक ५.०६ अंकले ओरालो लागेर २७००.४७ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.७७ अंकले ओरालो लागेर ४६३.६६ बिन्दुमा झरेको थियो।

पाँचौँ दिन शुक्रबार भने नेप्से परिसूचक १.६३ अंकले उकालो लागेर २७०२.११ बिन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.३१ अंकले उकालो लागेर ४६३.९८ बिन्दुमा चढेको थियो।

यो साता आखुखोला जलविद्युत कम्पनी लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड को सबैभन्दा बढी रकम कारोबार भएको छ। कारोबार भएको संख्याको आधारमा पनि यो साता आखुखोला जलविद्युत कम्पनी र नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनीहरू अगाडि देखिएका छन्।
बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन्।
दैनिक शेयर कारोबार तालिका






