काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्व अब अञ्जन श्रेष्ठको काँधमा आएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार श्रेष्ठले आजदेखि औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। यससँगै उनी महासंघको २१औं अध्यक्ष बनेका छन्।
यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका थिए। ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठले अब आगामी तीन वर्ष मुलुकभरका उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन्। नेपाल सरकारपछिको सबैभन्दा ठूलो संस्थागत सञ्जालका रूपमा स्थापित महासंघको नेतृत्व सम्हाल्नु आफैंमा ठूलो जिम्मेवारी मानिन्छ।

महासंघमा देशभरका करिब ५ लाखभन्दा बढी उद्यमी–व्यवसायी आवद्ध छन्। जिल्ला तथा नगर उद्योग वाणिज्य संघदेखि वस्तुगत संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघसम्म फैलिएको यसको संरचनाले निजी क्षेत्रको समग्र आवाज प्रतिनिधित्व गर्दै आएको छ। साथै, नेपाल सरकारको आर्थिक सल्लाहकारका रूपमा महासंघले नीतिगत सुझाव दिने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै अर्थतन्त्रलाई थप चलायमान बनाउने प्रतिबद्धता जनाएका छन्। उनले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको योगदानलाई अझ प्रभावकारी बनाउने बताएका छन्।
उनले सार्वजनिक रूपमा व्यक्त गरेको धारणा अनुसार नेपालको कुल अर्थतन्त्रमा निजी क्षेत्रको योगदान करिब ८२ प्रतिशत रहेको छ भने रोजगारी सिर्जनामा यसको हिस्सा ८६ प्रतिशतभन्दा बढी छ। यस्तो अवस्थामा निजी क्षेत्रलाई नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र सहजीकरण प्रदान गर्न सरकारसँग नजिकको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
श्रेष्ठले आफ्नो कार्यकालमा उद्यमी–व्यवसायीको हित संरक्षण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई गति दिने विषयलाई प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्। उनले युवा पुस्ताको आकांक्षालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न विशेष पहल गर्ने योजना पनि सार्वजनिक गरेका छन्।
उनले भनेका छन्, “निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, सहयात्री हो। मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ।”

महासंघभित्र दुई दशकभन्दा लामो अनुभव
श्रेष्ठ महासंघभित्र लामो समयदेखि सक्रिय छन्। उनी २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा महासंघमा प्रवेश गरेका थिए। त्यसयता उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति तथा रोजगारदाता परिषद सदस्यलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्।
महासंघको नीतिगत संरचना, निजी क्षेत्रका चुनौती र सरकारसँग समन्वयका विषयमा उनको अनुभव अब नेतृत्व तहमा उपयोग हुने अपेक्षा गरिएको छ।
लक्ष्मी ग्रुपबाट उदाएको नेतृत्व
अञ्जन श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्। पोखराबाट सुरु भएको लक्ष्मी ग्रुप आज नेपालकै अग्रणी व्यावसायिक समूहका रूपमा स्थापित छ।
लक्ष्मी ग्रुपको सुरुवात २०३० साल पुस ५ गते बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठले पोखरामा ‘लक्ष्मी मिठाई भण्डार’ स्थापना गरेर गरेका थिए। त्यसपछि समूहले कन्फेक्सनरी उद्योगमार्फत विस्तारको यात्रा सुरु गरेको थियो।
अञ्जन श्रेष्ठले २०४५ सालमा समूहको कन्फेक्सनरी उद्योगबाट आफ्नो व्यावसायिक यात्रा थालेका थिए। अहिले यही व्यवसाय सुजल फुड्सका रूपमा स्थापित छ, जसले चकलेट, वेफर्स, गम, ट्रफी, ललिपप र क्यान्डीलगायतका उत्पादनमार्फत नेपाली बजारमा बलियो उपस्थिति बनाएको छ।
सुजल फुड्सले नेपाली कन्फेक्सनरी बजारको करिब ५० प्रतिशत हिस्सा ओगटेको दाबी गरिन्छ।
अटोमोबाइलदेखि स्टिल उद्योगसम्म विस्तार
लक्ष्मी ग्रुपले पछिल्ला वर्षहरूमा प्याकेजिङ, स्टिल, ट्रेडिङ र अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गरेको छ। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरकका रूपमा समूहले अटोमोबाइल क्षेत्रमा बलियो पकड बनाएको छ।
सन् २००८ देखि हुन्डाई ब्रान्डका सवारी साधन आयात तथा वितरण गर्दै आएको समूहले पछिल्लो समय नेपालमै केही मोडेल एसेम्बल गर्न थालेको छ। यसले स्वदेशमै औद्योगिक उत्पादन र रोजगारी विस्तारमा योगदान पुर्याएको छ।
समूहअन्तर्गत तीन हजार दुई सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
चुनौती र अवसरबीचको नेतृत्व
अध्यक्ष बनेपछि श्रेष्ठले नेपालको अर्थतन्त्र अहिले अवसर र चुनौती दुवैको मोडमा रहेको बताएका छन्।
उनका अनुसार स्थिर सरकार, बलियो विदेशी मुद्रा सञ्चिति, सुशासन र भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिबद्धता अवसरका पक्ष हुन्। तर राजस्व र सरकारी खर्चबीच बढ्दो खाडल, निजी क्षेत्रमा कर्जा प्रवाहको कमी, लगानीकर्ताको घट्दो मनोबल तथा अन्तर्राष्ट्रिय अस्थिरता चुनौतीका रूपमा देखिएका छन्।
विशेषगरी पश्चिम एसियामा बढ्दो अस्थिरताले इन्धन आपूर्ति, मूल्यवृद्धि र वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा असर पार्न सक्ने भएकाले त्यसप्रति सतर्क रहनुपर्ने उनको भनाइ छ।
निजी क्षेत्रलाई पुनःउत्साहित गर्ने लक्ष्य
श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्दै लगानीमैत्री वातावरण निर्माण गर्न आफू केन्द्रित हुने बताएका छन्। उनले सरकारबाट नीतिगत स्थिरता अपेक्षा गर्दै निजी क्षेत्र पनि जिम्मेवार र पारदर्शी बन्नुपर्नेमा जोड दिएका छन्।
उनको भनाइ छ, “सरकारले उपयुक्त वातावरण बनाइदिए निजी क्षेत्रले अर्थतन्त्रलाई पुनः गति दिन सक्छ। अब परिणाम दिने समय आएको छ।”











