काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन् ।
पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् । काठमाडौंको टुँडिखेलमा आयोजित १९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताउँदै यस व्यवस्थाले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको बताएका हुन् ।
गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए ।
‘यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने संकल्प अभिप्रेरित गरेको छ । यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो’, उनले भने ।
उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको भन्दै संविधानले निदृष्ट गरेको व्यवस्थाअनुसार नै यसको अभ्यास भइरहेको बताए । गणतन्त्रले एकताबद्ध भएर अगाडि जाने अवसर दिएको भन्दै सबै किसिमका राजनीतिक अधिकार समेत दिएको राष्ट्रपति पौडेलले बताए ।
राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई जनतासँग जोड्न पर्याप्त नहुने भन्दै उनले शासकीय चरित्रले परिवर्तनलाई जनतासँग जोड्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक उपलब्धिको जगमा आर्थिक उन्नतिको जग बसाल्नु पर्ने भन्दै शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील बनाएर सुशासन दिनै पर्ने बताए ।
राष्ट्रपति पौडेलले अहिले बलियो जनादेशको सरकार बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूची ल्याएर काम गरिरहेको बताए । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई समृद्ध बनाउन सबैले आफ्नो आचरणलाई सुधार गरेर काम गर्नेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्ले पारित गरेको सम्बोधन राष्ट्रपतिले वाचन गरेका हुन् । गणतन्त्र दिवसमा सधैं प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । यसपटक प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरेका थिए ।








