काठमाडौं। नेकपा (एमाले)ले गिरीबन्धु टी–इस्टेटसहित विवादित भनिएका सबै प्रकरणका फाइल खोल्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा एमालेकी उपनेता पद्मा अर्यालले बजेटमाथिको छलफलका क्रममा सरकारलाई लक्षित गर्दै यस्तो चुनौती दिएकी हुन्।
अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलका क्रममा विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाइन्। उनले झापाको गिरीबन्धु टी–इस्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर छानबिन सुरु गर्न आग्रह गरिन्।
संसद्मा बोल्दै अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै विवादित प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरिन्। “साँचो कुरा के हो, त्यो जनतासामु आउनुपर्छ,” उनले भनिन्।
अर्यालले विपक्षीमाथि गम्भीर आरोप लगाउने तर ती आरोपहरू छानबिनबाट पुष्टि नभए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठाइन्। उनले छानबिनबाट आरोप प्रमाणित नभए आरोप लगाउने पक्ष नैतिक र राजनीतिक रूपमा जवाफदेही बन्नुपर्ने धारणा राखिन्।
सरकारका जिम्मेवार व्यक्तिहरूले संसद्भित्रै विपक्षीलाई धम्की दिने शैली अपनाएको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन्। लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षको भूमिका सम्मान गर्नुपर्ने भन्दै संसद्लाई धम्कीको थलो बनाउन नहुने उनको भनाइ थियो।
अर्यालले सरकारलाई लक्षित गर्दै गिरीबन्धु टी–इस्टेटदेखि विपक्षीसँग जोडिएका भनिएका सबै फाइल सार्वजनिक गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेकी छन्।






