काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन् ।

शुक्रबार दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताले गरेको ऐतिहासिक आन्दोलन, संघर्ष र पछिल्लोपटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु¥याउन भएका सबै आन्दोलन र संघर्षको नेतृत्व गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गरेका छन् ।

पौडेलले सुशासनको प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलनपश्चात मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकासका लागि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणासहित तत्कालीन प्रतिनिधिसभाको विघटन भएको बर्ता ।

‘फागुन २१ गते तोकिएकै समयमा स्वच्छ, निश्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भै ताजा जनादेशवमोजिम सरकार गठन समेत भैसकेको छ । म यस अवसरमा निर्वाचनमा सहभागी हुने सवै राजनीतिक दल तथा उम्मेदवाहरू, निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्न चाहान्छु । उहाँहरूको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न आआफ्नो तर्फबाट भूमिका खेल्ने तत्कालीन सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिए ।

‘निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमै अभुतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहितको प्रतिनिधि सभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ,’ उनले भने ।

जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सवै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुकभित्रै रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय, तीव्र आर्थिक सामाजिक विकास, शान्ति र स्थायित्वको आकांक्षा राखेको पौडेलको भनाइ छ । पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लोपटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही रहेको उनले बताए ।

‘जनताको यी चाहना पूरा गर्न संसदले नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण गर्नुपर्दछ । निर्माण भएका कानुनको मर्म र भावनाअनुरुप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु,’ पौडेलले भने, ‘साथै, न्यायपालिकाबाट छिटो छरितो, स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ ।’

पौडेलले आजका युवाको चाहना विगतभन्दा धेरै नयाँ रहेको बताउँदै उनीहरू नयाँ कुरा सिक्न चाहन्छन् भन्ने बुझ्नुपर्ने बताए । ‘परम्परागत श्रमका क्षेत्रले मात्र श्रमबजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न सक्दैन । तसर्थ रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौं बसौं बनाउनुपर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ,’ उनले भने ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आमनागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्नेमा उनले जोड दिए । ‘सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नसक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ,’ उनले भने ।

पछिल्लो समय विश्वमा देखिएको युद्ध र अस्थिरताको अवस्थालाई मध्यनजर गरी सरकार र सम्वद्ध सबै पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्रराष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र पारस्परिक सम्मान र सहयोगमा आधारित कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।