काठमाडौं।  श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले विद्यार्थीहरूको मोबाइल फोन खोसेर पानीमा डुबाइएको घटनामा संलग्न निर्णयकर्तामाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले विद्यार्थीको मोबाइल खोस्ने र पानीमा डुबाएर नष्ट गर्ने निर्णयलाई गम्भीर विषयका रूपमा उठाएका हुन्। उनले यस्तो ‘रचनात्मक आदेश’ दिने व्यक्ति को हो भनेर प्रश्न गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

“विद्यार्थीको मोबाइल खोसियो। पानीमा डुबाएर मोबाइलको हत्या गरिएको हो कि के हो ? त्यो रचनात्मक निर्णय गर्ने व्यक्तिलाई सजाय दिनुपर्छ भनेर गृहमन्त्रीलाई भन्न चाहन्छु,” साम्पाङले संसद्मा भने।

ADVERTISEMENT

उनले उक्त घटनाले विद्यार्थीको सम्पत्तिमाथि हस्तक्षेप भएको भन्दै जिम्मेवार व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरे।

ADVERTISEMENT

साम्पाङले कैलालीमा वन कर्मचारीले टेम्पो भिरबाट धकेलेर खसालेको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

“दोषीमाथि कारबाही होस्, पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,” उनले भने।