काठमाडौं। सरकारको सिफारिसमा संघीय संसद् अधिवेशन स्थगित गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् अधिवेशन स्थगित गरेका हुन्।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरिएको थियो। तर पछि आएको अर्को सिफारिसका आधारमा अधिवेशन प्रारम्भ हुनुअघि नै स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका अनुसार ‘विशेष कारणवश’ अधिवेशन स्थगित गरिएको हो। यद्यपि ती कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सरकार र संसद् सञ्चालनसँग सम्बन्धित नियमित प्रक्रियाअन्तर्गत अधिवेशन आह्वान र स्थगन गरिने भए पनि पछिल्लो निर्णयले राजनीतिक वृत्तमा चासो बढाएको छ। अब संसद् अधिवेशन कहिले सुरु हुन्छ भन्नेबारे औपचारिक घोषणा हुन बाँकी छ।







