काठमाडौं। सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको नयाँ संसद हलको निरीक्षण गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। संसद सचिवालयका कर्मचारीहरूसहित सोमबार निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण सम्पन्न हुने निश्चित मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका हुन्।

गत जेठ १५ गते संघीय बजेट यही नयाँ संसद हलबाट प्रस्तुत गर्ने योजना रहे पनि निर्माण कार्य समयमै सम्पन्न हुन नसकेपछि कार्यक्रम पुरानो भवनबाट सञ्चालन गरिएको थियो। निर्माण कार्य अझै अधुरो रहेकाले सभामुखले सम्बन्धित निकायप्रति असन्तोष व्यक्त गरेका हुन्।

निरीक्षणका क्रममा उनले निर्माण कम्पनी तथा सम्बन्धित अधिकारीहरूलाई काम सम्पन्न हुने स्पष्ट समयसीमा दिन निर्देशन दिँदै तोकिएको समयमै काम नसके दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउन सकिने चेतावनी दिए।

ADVERTISEMENT

सभामुख अर्यालले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले रातदिन काम गरेर भए पनि प्रतिबद्धता पूरा गर्नुपर्ने उल्लेख गर्दै निरन्तर बहाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताए।

ADVERTISEMENT

“रातदिन काम गरेर भए पनि बोलेको कुरा पूरा गर्नुपर्छ। तपाईंहरूले हामीलाई नटेरेको होला, तर यो संसदको मात्र होइन, राष्ट्रकै अपमान हो,” सभामुख अर्यालले निरीक्षणका क्रममा भने।

ADVERTISEMENT

उनले अब निर्माण सम्पन्न हुने स्पष्ट निष्कर्ष र कार्यतालिका चाहिएको भन्दै थप ढिलाइ सह्य नहुने संकेत दिएका छन्। संसद भवनको नयाँ हललाई आधुनिक सुविधासम्पन्न बनाउने लक्ष्य राखिएको छ भने निर्माण सम्पन्न भएपछि संसदका बैठक तथा विशेष कार्यक्रमहरू त्यहीँ सञ्चालन गर्ने तयारी गरिएको छ।