काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले मंगलबार पाण्डेको हकमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै रिट जारी हुने फैसला सुनाएको हो।
पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएकी थिइन्।
दुवै पक्षको बहस तथा उपलब्ध प्रमाणहरूको अध्ययनपछि इजलासले पाण्डेलाई थुनामा राखिएको प्रक्रिया कानुनसम्मत नरहेको निष्कर्ष निकालेको हो। अदालतको ‘रिट जारी’ आदेशसँगै सम्बन्धित निकायलाई उनलाई तत्काल रिहा गर्न निर्देशन दिइएको बुझिएको छ।
ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकम प्रालिको सम्पत्ति व्यवस्थापनका क्रममा नेपाल सरकारको हक टुट्ने गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार स्मार्ट टेलिकमले अनुमति पत्र नवीकरण नगरेपछि सरकारको नियन्त्रणमा आएको सम्पत्ति लिलामी प्रक्रियामा पाण्डेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तर्फबाट बदनियतपूर्वक काम गरेको आरोप लागेको थियो।

ADVERTISEMENT