काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज वर्षासँगै हावाहुरीको सम्भावना रहेको छ भने केही तराई क्षेत्रमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यकासहित देशका केही भूभागमा गएरातिदेखि नै वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको सम्भावना रहेको छ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि विभागले दिएको छ।
रातिको मौसम पूर्वानुमानअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई भूभाग मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार गएराति देशका धेरै स्थानमा वर्षा भएको र आज दिउँसो केही समय मौसम खुले पनि अपराह्नदेखि पुनः वर्षा सुरु हुने सम्भावना रहेको छ। उनले यो साताभर यस्तै मौसम कायम रहने उल्लेख गरेका छन्।
जलवायुविज्ञ धर्मराज उप्रेतीले शुक्रबारदेखि पश्चिम नेपालसहित देशभर मध्यम वर्षाको सम्भावना रहेको बताएका छन्।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर वर्षा र हावाहुरीको सम्भावना, केही क्षेत्रमा अत्यधिक गर्मी








