काठमाडौं। देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसको प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसहित बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।
साथै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशीसहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

ADVERTISEMENT