काठमाडौं । हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनामा तत्कालीन इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही सिफारिस गरिएको छ।
गत भदौमा कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको प्रहरी हिरासतमा रहँदा मृत्यु भएको घटनाबारे गठित छानबिन समितिले प्रहरीको कमजोरी देखिएको निष्कर्ष निकालेपछि कारबाही सिफारिस गरिएको हो।
सिंह ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए। पक्राउ परेको तीन दिनपछि हिरासतमा अस्वस्थ भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
मृतकका परिवारले प्रहरी हिरासतमा यातना दिइएका कारण मृत्यु भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए। घटनापछि लामो समयसम्म औपचारिक छानबिन अघि नबढे पनि पछि लुम्बिनी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी सन्तोष राठौरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
प्रहरी स्रोतका अनुसार समितिले हिरासत व्यवस्थापनमा कमजोरी रहेको निष्कर्ष निकालेपछि डीएसपी खनालसहित हिरासत कक्षमा जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको हो।
एक प्रहरी अधिकारीका अनुसार हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु आफैँमा गम्भीर विषय भएकाले त्यसको जिम्मेवारी सम्बन्धित प्रहरी नेतृत्वले लिनुपर्ने हुन्छ।
छानबिन प्रतिवेदन लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय पठाइसकिएको छ। प्रतिवेदन प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी खनालमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
उक्त घटनापछि विवादमा तानिएकी डीएसपी खनाललाई गत असोजमै कोहलपुरबाट सरुवा गरी अपराध अनुसन्धान विद्यालय, प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज, काठमाडौंमा पठाइएको थियो।








