काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार यस वर्ष कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा सार्वजनिक गरिए पनि विद्यार्थीले केहीबेरपछि मात्रै बोर्डको आधिकारिक वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्ने जनाइएको छ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण यस पटक नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।
नतिजाअनुसार कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० सम्मको जीपीए हासिल गरेका छन्, जुन सबैभन्दा उच्च उपलब्धि हो।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ जना छन्।
यसैगरी, २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ जना रहेका छन् भने २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेको बोर्डले जनाएको छ।
१.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या भने केवल ७ जना रहेको छ।
बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक वेबसाइट र एसएमएस सेवा प्रयोग गरेर मात्र नतिजा हेर्न आग्रह गरेको छ।
सार्वजनिक भयो एसईई नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४८ हजारभन्दा बढीले ल्याए ३.६० माथिको जीपीए

