गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्काको प्रभावमा चल्ने र पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुने व्यक्तिहरू पार्टीभित्र बसिरहनु उचित नहुने बताएका छन्।

राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै लिङ्देनले पार्टीको अहितमा खुलेर लागेका केही व्यक्तिहरूले पार्टी परित्याग गरेको घोषणा गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूको बहिर्गमनले पार्टीलाई कुनै नोक्सानी नहुने बताएका हुन्।

ADVERTISEMENT

“पार्टीका नेता, कार्यकर्ता र समर्थक भनेका पार्टीका लागि काम गर्ने र चुनावमा पार्टीको पक्षमा उभिने व्यक्ति हुन्,” उनले भने, “उम्मेदवारी नलिने, चुनावमा भोट हाल्नसमेत नजाने र पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिने सोच राख्ने व्यक्तिहरूले पार्टी छाड्दा दुःख मान्नुपर्ने कुनै कारण छैन।”

लिङ्देनले उम्मेदवार बन्ने आकांक्षा देखाएर अन्तिम समयमा पछि हट्ने प्रवृत्तिको समेत आलोचना गरे। उनले गोरखाकै एक युवाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरे पनि टिकट लिन बोलाउँदा उपस्थित नभएको उदाहरण दिँदै यस्ता व्यक्तिहरूले पार्टी छाडेको घोषणा गर्नु हास्यास्पद भएको टिप्पणी गरे।

उनले पार्टी नेतृत्वबारे अनावश्यक विवाद सिर्जना गर्ने र स्पष्ट कार्यदिशा दिन नसक्ने व्यक्तिलाई नेतृत्व सुम्पनुपर्ने माग समयसापेक्ष नभएको पनि बताए।

“अर्काका गोटी बनेर चल्नेहरू पार्टीमा रहिरहेसम्म पार्टीले गति लिन सक्दैन,” उनले भने, “त्यस्ता व्यक्तिहरू पार्टीमा बसिरहनुभन्दा बाहिरिनु नै उपयुक्त हुन्छ।”

अध्यक्ष लिङ्देनले देशभरका राष्ट्रवादी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विचलित नहुन आग्रह गर्दै राप्रपा कमजोर नभई अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरे।

“कसैले निराश हुनुपर्ने अवस्था छैन। राप्रपा अझ बलियो बनेर आउनेछ,” उनले भने, “देशमा राष्ट्रवादी शक्तिको आवश्यकता र महत्व झन् बढ्दै गइरहेको छ।”