काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ करोड रुपैयाँले कम हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) बढेकाले नाफामा सामान्य गिरावट आएको बैंकले जनाएको छ।
यद्यपि, बैंकले कर्जा विस्तारमा उल्लेख्य प्रगति गरेको छ। असार मसान्तसम्म २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म बढाएर २ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएको छ।
बैंकको वित्तीय सूचकहरू सन्तोषजनक देखिएका छन्। निष्क्रिय कर्जा ०.६१ प्रतिशत मात्र रहेको छ भने पूँजी पर्याप्तता अनुपात १२.८७ प्रतिशत र प्राथमिक पूँजी अनुपात ९.५८ प्रतिशत रहेको छ।
त्यसैगरी, सीडी रेसियो ८५.८८ प्रतिशत, बेस रेट ४.५७ प्रतिशत र ब्याजदर स्प्रेड ३.१२ प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकको रिटर्न अन इक्विटी १३.५६ प्रतिशत र प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ तथा ईपीएस ३२.३५ रुपैयाँ रहेको छ।
बैंकका अनुसार ३ अर्ब ३२ करोड रुपैयाँको नाफाबाट करिब १ अर्ब ७४ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्न सकिने क्षमता रहेको छ। साथै, अघिल्लो सञ्चित नाफासहित बैंकसँग कुल ४ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ।








