काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप घटेको छ। उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण बैंकहरूको ब्याजदर लगातार ओरालो लागिरहेको हो।
बैंकहरूले हरेक महिनाको मसान्तमा आगामी महिनाका लागि ब्याजदर सार्वजनिक गर्ने व्यवस्था अनुसार बिहीबार जेठ महिनाको नयाँ सूची सार्वजनिक गरेका हुन्।सार्वजनिक विवरणअनुसार वैशाखको तुलनामा जेठमा ७ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले स्थिर राखेका छन्।
वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा ०.०५९५ प्रतिशत बिन्दुले घटेको छ। वैशाखमा औसत अधिकतम ब्याजदर ४.४०२५ प्रतिशत रहेकोमा जेठमा ४.३४३ प्रतिशतमा झरेको छ।यो दर चैत महिनाको उपभोक्ता मुद्रास्फिति दरभन्दा पनि कम रहेको छ। नेपाल राष्ट्र बैंक का अनुसार चैत महिनाको उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत थियो।
अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४ देखि ४.५ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। मुद्रास्फितिभन्दा कम प्रतिफल दिने अवस्था सिर्जना भएपछि यसले बचतकर्तामाझ चासो बढाएको छ।
वैशाखको तुलनामा जेठमा ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन्।यस्तै नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक लगायत १३ बैंकले ब्याजदर स्थिर राखेका छन्।
जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंक ले ४.८० प्रतिशत तोकेको छ। यो दर पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्र लागू हुने बैंकले जनाएको छ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार हुन नसक्दा ब्याजदर घटिरहेको बैंकिङ क्षेत्रको विश्लेषण छ।राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरणमार्फत बजारबाट रकम खिचिरहेको छ।











