काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार अर्को निर्णय नभएसम्मका लागि संगठनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार एन-प्याब्सनले पटक–पटक सरकारी निर्देशन अवज्ञा गर्नुका साथै संस्थाको उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको पाइएपछि यस्तो निर्णय गरिएको हो ।

ADVERTISEMENT

मन्त्रालयद्वारा जारी सूचनामा संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका काम गरेको उल्लेख छ । यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित पक्षलाई बोलाएर छलफल गरेको थियो । त्यसक्रममा मन्त्रालयले जारी गरेका निर्देशनअनुसार काम गर्न आग्रहसमेत गरेको थियो । तर, निर्देशनको निरन्तर उल्लंघन भएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गरिएको सूचनामा उल्लेख छ ।

मन्त्रालयले संगठन निलम्बन भइसकेकाले अब एन-प्याब्सनको नाममा कुनै समूह वा गुटले गतिविधि सञ्चालन गरे त्यस्ता गतिविधि गैरकानुनी हुने स्पष्ट पारेको छ । संगठनको नाममा कुनै गतिविधि गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।