काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४, मयलका २० वर्षीय सानुभाई साजन बिष्ट रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिष्टले ‘सानुभाई’ नामको फेसबुक आईडीमार्फत् ओली, लेखक तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई तत्काल रिहा गर्न धम्की दिएका थिए । साथै, माग पूरा नभए प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।

उनले एके–४७ जस्ता आधुनिक हतियार काठमाडौं भित्रिसकेको दाबीसमेत गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिष्टविरुद्ध साइबर कसुरअन्तर्गत अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार बिष्ट पछिल्लो पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका थिए र त्यहाँ फेन्सी स्टोरमा काम गर्ने गरेको खुलेको छ । उनी भारतमा रहँदा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।