काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको र उनीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीको नेपाल प्रहरीले खण्डन गरेको छ।
प्रहरी उच्च कमान्डको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा यस्ता समाचार तथा टिप्पणीप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा आमनागरिकमा भ्रम सिर्जना हुनुका साथै सुरक्षा जोखिमसमेत बढ्न सक्छ।
प्रहरीले अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेको छ। यस्ता सामग्रीले नागरिक सेवामा समर्पित संस्थाप्रतिको विश्वास, संगठनको छवि र निष्ठामा असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाल प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि आग्रह गरेको छ।
विज्ञप्तिमा नेपाल प्रहरी सरकारको नीति तथा निर्देशनअनुसार आफ्नो संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख छ। भ्रामक प्रचार वा अनावश्यक दबाबबाट विचलित नभई जिम्मेवारी निर्वाह गर्न तथा उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिइएको पनि जनाइएको छ।
त्यस्तै, संगठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाइएको पाइएमा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।









