काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बस्ने तय भएको छ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन रहनेछ।
यसअघि यही जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। आजको बैठकमा पार्टीको ११औँ महाधिवेशनपछि बाँकी रहेको जिम्मेवारी बाँडफाँटको विषयलाई टुंगो लगाउने तयारी गरिएको छ।
पार्टी स्रोतका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरसम्मको जिम्मेवारी दिएर खटाउने तयारी गरिएको छ। प्रत्येक केन्द्रीय सदस्यलाई स्थानीय तहको इञ्चार्ज बनाउँदै आगामी स्थानीय तह निर्वाचनमा पार्टी संगठन सुदृढ बनाउन विशेष जिम्मेवारी दिने योजना रहेको बताइएको छ।
यससँगै केन्द्रीय विभाग तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँट गरिनेछ।
एक पदाधिकारीका अनुसार बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने सम्भावना छ।
एमाले सचिवालय बैठक आज ओली निवास गुण्डुमा बस्दै


