काठमाडौं । नेकपा एमालेले संघीय संसद्मा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी, जिम्मेवार र समन्वयात्मक बनाउन आज विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टीको संसदीय विभागको आयोजनामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र कार्यशैलीबारे प्रशिक्षण दिनेछन्।
पार्टी सचिव तथा संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय समितिहरूको भूमिका र प्रभावकारी रूपमा उठाउनुपर्ने विषयबारे जानकारी गराउनेछन्।
त्यस्तै, एमाले महासचिव शंकर पोखरेलले पार्टीको नीति, सांसदको दायित्व तथा पार्टीका विभागहरूसँग समन्वय गरेर संसद्मा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा संघीय संसद्का दुवै सदनका सांसद, पार्टीका विभाग प्रमुख तथा पूर्व विभाग प्रमुखहरूको सहभागिता रहनेछ। साथै, विभिन्न विभागले सिफारिस गरेका विषयविज्ञहरूको ‘रोस्टर’ तयार गरी आवश्यक पर्दा सांसदलाई विशेषज्ञ परामर्श उपलब्ध गराउने व्यवस्था पनि गरिनेछ।






