काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा पहिले देशलाई प्राथमिकता दिने सिद्धान्त र मनोविज्ञानका साथ अघि बढ्न आग्रह गरेका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने मान्यतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका हुन्।

ADVERTISEMENT

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको यात्रामा अघि बढ्नु सबैको समान जिम्मेवारी भएको उल्लेख गरे। संस्थागत रूपमा, स्वाभिमानका साथ तथा सभापतिले तयार गर्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

शर्माले जिम्मेवारीअनुसारका काम सम्पन्न गरी समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन पनि आग्रह गरे। त्यस्तै, आफूहरूमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्दै गलत कुराको खण्डन स्वस्थ र विधिसम्मत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए।

परिवर्तनसँग जोडिएका गम्भीर चुनौतीको सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

शर्माले सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित र प्रभावकारी सामूहिक कार्यशैलीका साथ अघि बढ्ने बताए।