काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै ओलीले राष्ट्रिय शोकको समयमा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन्।
‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ,’ ओलीले भने।
नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उनले तीनवटै तहका सरकार, संघसंस्था तथा परोपकारी व्यक्ति मिलेर विपद्को सामना गर्नुपर्ने धारणा राखे।
तर विपद्को समयमा पनि सरकारले राज्यको सामर्थ्यलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको ओलीको आरोप छ। ‘सरकारले राज्यको सामर्थ्य कब्जा गर्यो । अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो,’ उनले भने।
प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो। ओलीले कतिपय निजी संघसंस्थालाई खोजी तथा उद्धार कार्यमा समेत सहभागी हुन नदिइएको दाबी गरे।
यसैबीच, उनले बागमती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहत तथा पुनर्निर्माणका काम अघि बढाएको भन्दै धन्यवाद दिएका छन्।






