काठमाडौं। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारद्वारा सूचना जारी भएपछि नेकपा एमाले नयाँ केन्द्रीय कार्यालयको खोजीमा जुटेको छ।भूमि व्यवस्था मन्त्रालयले भोगाधिकार पाएको तर लिजमा परिणत नभएको जग्गा खाली गर्न सूचना जारी गरेसँगै च्यासलस्थित एमालेको हालको केन्द्रीय कार्यालय पनि प्रभावित हुने देखिएको हो।
एमाले स्रोतका अनुसार औपचारिक पत्र प्राप्त नभए पनि सरकारको सूचनाअनुसार भवन खाली गर्नुपर्ने अवस्था देखिएकाले पार्टीले वैकल्पिक कार्यालयको खोजी सुरु गरिसकेको छ।एक एमाले नेताले भने, “आधिकारिक पत्र आएको जानकारी छैन, तर सार्वजनिक सूचनाअनुसार भवन खाली गर्नुपर्ने देखिन्छ। अब अर्को कार्यालय खोज्नुको विकल्प छैन।”तुलसीलाल प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने आफूहरूले कानुनअनुसार नै उक्त जग्गा प्रयोग गरिरहेको दाबी गरेका छन्।उनका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राप्त गरिएको उक्त जग्गा ५० वर्षका लागि लिजमा लिन प्रयास गरिएको भए पनि सरकारले स्वीकृति नदिएको थियो।
पूर्वमन्त्रीसमेत रहेका शाक्यले भवन निर्माणमा सरकारको समेत सहयोग रहेको उल्लेख गर्दै अन्य प्रतिष्ठानहरूले पनि यस्तै समस्या भोगिरहेको बताए। उनले कानुनी प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पारे।एमाले २०७८ सालदेखि च्यासलस्थित उक्त भवनमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ।
२०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्किएपछि एमालेले केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा कार्यालय सञ्चालन गरेको थियो।पछि चक्रपथ विस्तारका कारण त्यहाँबाट हट्नुपरेपछि एमाले केही समय थापाथलीमा सरेको थियो। निजी घरमा कार्यालय राख्दा विवाद उत्पन्न भएपछि पार्टी च्यासल पुगेको थियो।यसबीच एमालेले आफ्नै स्थायी कार्यालय निर्माणको पहल पनि गरेको थियो। कार्यकर्ताबाट चन्दा संकलन गरे पनि निर्माण अघि बढ्न सकेको थिएन।
व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरमा १० रोपनी जग्गासहित करिब एक अर्ब रुपैयाँ बराबरको कार्यालय भवन निर्माण गरिदिने घोषणा गरेपछि २०८१ असोजमा शिलान्यास गरिएको थियो।उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी गुरुङ दम्पती सहभागी भएका थिए।तर, सो परियोजनालाई लिएर पार्टीभित्रै विवाद चर्किएको थियो। असहमति जनाउने नेतृहरू बिन्दा पाण्डे र उषा किरण तिम्सिनामाथि कारबाही गरिएको थियो।
सरकारी सूचनापछि एमालेको केन्द्रीय कार्यालय फेरि स्थानान्तरण हुने सम्भावना बढेको छ।










